दसौं राष्ट्रिय खेलकुद फागुन १ देखि ७ गतेसम्म कर्णालीमा, पूर्व धावक जितबहादुर केसीलाई २५ लाख पुरस्कार सिफारिस

ecopolinews.com

काठमाडौँ — दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन १ देखि ७ गतेसम्म कर्णाली प्रदेशमा हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अध्यक्ष तथा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बुधबार बसेको १२३औं बोर्ड बैठकले उक्त मिति तय गरेको हो।

बैठकले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने पूर्व धावक जितबहादुर केसीलाई २५ लाख रुपैयाँ नगद पुरस्कार दिने सिफारिस मन्त्रिपरिषद्‌मा पठाउने निर्णय गरेको छ।

त्यसैगरी, लामो समयदेखि राष्ट्रिय प्रतियोगिता नगरेका खेल संघहरूलाई तीन महिनाभित्र अनिवार्य रूपमा प्रतियोगिता आयोजना गर्न निर्देशन दिने निर्णय गरिएको छ। साथै, खेल संघहरूले घोषणा गरेका खेलाडीको सुविधा र पुरस्कार १५ दिनभित्र वितरण गर्नुपर्ने र वैदेशिक भ्रमणसम्बन्धी प्रतिवेदन राखेपमा पेश गर्नुपर्ने पनि बैठकले निर्देश दिएको छ।

बैठकमा राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, उपाध्यक्ष ध्रुव आचार्य, खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, तथा अन्य बोर्ड सदस्यहरू सहभागी थिए।

प्रतिक्रिया