पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको स्वास्थ्य र अवस्थाबारे गम्भीर प्रश्न उठ्न थालेपछि रावलपिण्डीमा सुरक्षा कडा पार्दै धारा १४४ लागू गरिएको छ।
इमरान खानका छोराहरू कासिम र सुलेमानले पहिलोपटक सार्वजनिक रूपमा सोधेका छन् —
“आमाबाबु सुरक्षित छन् कि छैनन् ?”
उनीहरूका अनुसार विगत केही हप्तादेखि बाबुसँग सम्पर्क हुन नसक्नु र भेटघाट समेत रोकिनु अत्यन्त शंकास्पद छ। अदालतले अनुमति दिँदै पनि परिवारलाई उनीसँग न त भेट गर्न दिइएको छ, न त फोनमै कुरा। यसले कुनै ठूलो घटना लुकाइएको आशंका बढाएको उनले बताएका छन्।
रावलपिण्डीमा कडा सुरक्षा, जेल क्षेत्र सील
यसैबीच, इमरान खान राखिएको अदियाला जेल परिसर वरपर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
सर्वदलीय विरोध प्रदर्शनको तयारी भइरहेको जानकारी बाहिरिएपछि प्रशासनले शहरका संवेदनशील क्षेत्रलाई सील गर्दै धारा १४४ जारी गरेको हो। जेलतर्फ जाने मुख्य मार्गहरू बन्द गरिएका छन्।
उनका दिदी–बहिनीहरूले समेत जेल बाहिर धर्ना बस्ने चेतावनी दिएपछि तनाव झन् बढेको बताइन्छ।
जेमिमा गोल्डस्मिथको आरोपले थपिए शंका
हालै इमरान खानकी पहिलो पत्नी जेमिमा गोल्डस्मिथले सामाजिक सञ्जालमार्फत कडा टिप्पणी गरिदै उनले “एक महिनादेखि उनलाई अज्ञात स्थानमा राखिएको” दाबी गरेकी थिइन्। यो भनाइ बाहिरिएपछि इमरान खानको अवस्थाबारे उठेका शंका झन् बलियो भएका छन्।
८४५ दिनदेखि हिरासतमा, पछिल्लो हप्ता ‘डेथ सेल’मा
अगस्ट २०२३ देखि हिरासतमा रहेका इमरान खान करिब ८४५ दिनदेखि सुरक्षा निकायको नियन्त्रणमा छन्। पछिल्ला छह हप्तादेखि उनलाई एकल ‘डेथ सेल’मा राखिएको बताइँदै आएको छ।
परिवारका सदस्य, समर्थक तथा कानुनी सहयातासँग भेटघाट रोकिँदा उनको स्वास्थ्य र सुरक्षाबारे प्रश्न चर्किएको छ।
पाकिस्तानको राजनीतिक वातावरण फेरि अशान्त बन्दै गएको, र कुनै पनि क्षण परिस्थिति थप संवेदनशील बन्न सक्ने अन्तर्राष्ट्रिय विश्लेषकहरूको टिप्पणी छ। एजेन्सी