काठमाडौँ । जेन–जी आन्दोलन सफल भई नयाँ सरकार गठनसँगै सुदन गुरुङ नेतृत्वको समूहले आगामी ६ महिनापछि हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्ष्य बनाएर नयाँ पार्टी गठनको तयारी थालेको छ ।
जेन–जी आन्दोलनमा सहभागी शक्ति एकत्रित गर्ने उद्देश्यले गुरुङलाई केन्द्रीय संयोजक तोकिएको छ भने सातै प्रदेशमा प्रदेश संयोजक चयन गरिएको छ । कोशीमा उपार्जुन राई, मधेशमा शिव यादव, बागमतीमा किरण आचार्य, गण्डकीमा प्रदीप पाण्डे, लुम्बिनीमा आदित्य आचार्य, कर्णालीमा सुप्रिया शाही र सुदूरपश्चिममा खेमराज साउदलाई संयोजकको जिम्मेवारी दिइएको छ ।
प्रदेश संयोजकमार्फत जिल्ला, नगर र स्थानीय तहसम्म संगठन विस्तार गरी सम्मेलन सम्पन्न गरेपछि निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारी भएको गुरुङ समूहले जनाएको छ ।
गुरुङ समूहले भदौ २३ र २४ गतेको आन्दोलनलाई ‘राजनीतिक क्रान्ति’का रूपमा राज्यले मान्यता दिनुपर्ने बताउँदै आगामी निर्वाचनमा दुईतिहाइ बहुमत ल्याएर संविधान संशोधन गर्ने, २०४६ सालपछि भएका सबै भ्रष्टाचार प्रकरणको छानबिन गर्ने, स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गर्ने र प्रत्यक्ष निर्वाचित कार्यकारी तथा पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई प्रमुख एजेण्डा बनाउने घोषणा गरेको छ ।
समूहले अब हुने मन्त्रिपरिषद् विस्तारमा जेन–जी आन्दोलनका प्रतिनिधिहरू सहभागी हुने दाबी पनि गरेको छ
७ असोज २०८२, मङ्गलबार ०८:५७ मा प्रकाशित