एसईई परीक्षा केन्द्र तोकाइमा आर्थिक असुलीको आरोप

ecopolinews.com

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) जस्तो संवेदनशील र राष्ट्रिय महत्वको परीक्षाको केन्द्र निर्धारणमै आर्थिक चलखेल भएको आरोप सार्वजनिक भएपछि शिक्षा विकास तथा समन्वय इकाई, काठमाडौंका प्रमुख समन्तमणि आचार्य गम्भीर विवादमा तानिएका छन्।

यही पुस २० गते आचार्यकै हस्ताक्षरमा आफ्नै कार्यालयबाट जारी गरिएको ‘परीक्षा केन्द्र सम्बन्धमा’ शीर्षकको पत्र सार्वजनिक भएसँगै परीक्षा केन्द्र तोकाइ प्रक्रिया अपारदर्शी र मनपरी भएको भन्दै चौतर्फी आलोचना सुरु भएको हो। विद्यालयहरूबाट परीक्षा केन्द्र पाउनका लागि प्रति विद्यालय १० हजार रुपैयाँ असुल गरिएको दाबीले यो विवादलाई थप चर्काएको छ।

परीक्षा केन्द्र निर्धारणमा आर्थिक लेनदेन भएको आशंकापछि अखिल क्रान्तिकारीका नेताहरू विद्यार्थीको तर्फबाट ज्ञापनपत्र बुझाउन शिक्षा विकास तथा समन्वय इकाई काठमाडौं पुगेका थिए। सो क्रममा परीक्षा केन्द्रका रूपमा छनोट हुन चाहने विद्यालयहरूसँग रकम असुलिएको आरोप प्रत्यक्ष रूपमा उठाइएको थियो।

अखिल क्रान्तिकारी उपत्यका विशेष प्रदेशका नेता जनक ढुङ्गानाका अनुसार, बढ्दो गुनासो र दबाबपछि इकाई प्रमुख आचार्यले असुल गरिएको भनिएको रकम फिर्ता गरिने प्रतिबद्धता जनाएका छन्। तर, उक्त रकम कसको निर्देशनमा, कुन प्रयोजनका लागि र कस्तो प्रक्रिया अपनाएर संकलन गरिएको हो भन्ने विषयमा अझै कुनै स्पष्ट जवाफ आएको छैन।

विद्यार्थी संगठनहरूले परीक्षा जस्तो मर्यादित र संवेदनशील विषयमा आर्थिक चलखेल हुनु अत्यन्त गम्भीर विषय भएको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन्। दोषी जो–कोही भए पनि कडा कारबाही हुनुपर्ने उनीहरूको अडान छ।

एसईई परीक्षा केन्द्र निर्धारणमै अनियमितताको आशंका देखिएपछि अभिभावक, विद्यार्थी र विद्यालय प्रशासनमा समेत आक्रोश बढ्दै गएको छ। घटनाले शिक्षा प्रशासनको विश्वसनीयता माथि नै प्रश्न उठाएको भन्दै सरोकारवालाहरूले तत्काल छानबिन र स्पष्ट सार्वजनिक जवाफको माग गरेका छन्।

प्रतिक्रिया