सामान्य जस्तो देखिने एउटा क्षणले सामाजिक सञ्जालमा गहिरो मानवीय सन्देश फैलाएको छ । एउटा सडक कुकुरको जिज्ञासु कदम र केही अपरिचित मानिसको दयालु मनले इन्टरनेटभर भावुक प्रतिक्रिया जन्माएको छ ।
इन्स्टाग्राम पेज StreetdogsofBombay ले सार्वजनिक गरेको भिडियोमा एउटा सडक कुकुर मेक्सिकोको मेरिडा सहरस्थित प्लाजा लास आमेरिकास मलको मिनिसो स्टोरभित्र पस्छ । स्टोरमा राखिएको एउटा नरम खेलौनातर्फ आकर्षित भएको कुकुरले त्यसलाई मुखले समातेर छोड्न नमानेको दृश्य भिडियोमा देखिन्छ । कर्मचारीहरूले खेलौना फिर्ता लिन खोज्दा पनि कुकुरको निर्दोष अडान कायमै रहन्छ ।
भिडियोमा कुकुरको मौन जिद्दी र सरल चाहना प्रस्ट देखिन्छ । त्यही बेला त्यहाँ उपस्थित केही ग्राहकले अप्रत्याशित तर अत्यन्तै मानवीय कदम चाल्छन् । उनीहरूले खेलौनाको पैसा तिरेर कुकुरलाई नै दिन्छन् । त्यसपछि देखिने दृश्यले धेरैको मन छोएको छ — कुकुर खेलौना मुखमा च्यापेर खुशी हुँदै दौडिन्छ, मानौँ उसले जीवनको सबैभन्दा ठूलो उपहार पाएको हो ।
क्रिसमसअघि केही दिनअघि घटेको यो घटना मेक्सिकोमा भए पनि यसको भावनात्मक प्रभाव विश्वभर फैलिएको छ । भिडियोको कमेन्ट सेक्सन दयालु मानिसप्रति प्रशंसाले भरिएको छ । एक प्रयोगकर्ताले लेखेका छन्, “जसले यो खेलौना किनिदियो, उसको पर्स कहिल्यै खाली नहोस्।” अर्काले भनेका छन्, “हेर्नुस् त, ऊ कति खुशी छ — सानो बच्चाजस्तै।”
सडकमा जन्मिए पनि स्नेह र खुसीको चाहना सबैमा समान हुन्छ भन्ने सन्देश बोकेको यो भिडियोले साना दयालु कर्मले पनि ठूलो प्रभाव पार्न सक्ने कुरा फेरि एकपटक प्रमाणित गरेको छ ।