काठमाडौं, असोज २७ – आईसीसी टी–२० विश्वकप २०२६ एसिया प्यासिफिक छनोट अन्तर्गत सुपर सिक्स चरणमा नेपालले लगातार दोस्रो जित निकाल्दै फाइनल चरणको दिशामा ठुलो कदम चालेको छ। सोमबार भएको रोमाञ्चक खेलमा नेपालले कतारलाई अन्तिम ओभरमा ५ रनले पराजित गरेको हो।
नेपालको जितमा बलर सन्दीप लामिछाने नायक बने। उनले आफ्नो चार ओभरमा मात्र १८ रन खर्चिँदै ५ महत्त्वपूर्ण विकेट लिँदै कतारी ब्याटिङ लाइनअप ध्वस्त पारे। त्यस्तै, नन्दन यादवले २ विकेट र दीपेन्द्र सिंह ऐरीले १ विकेट हात पारे।
कतारका दुई ब्याटरले अर्धशतक प्रहार गरे पनि सन्दीपको सटीक बलिङ अगाडि उनीहरू टिक्न सकेनन्।
यसअघि, टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १४७ रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो।
कप्तान रोहितकुमार पौडेलले उत्कृष्ट प्रदर्शन गर्दै ५८ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ४१ बलमा सात चौका र एक छक्का प्रहार गरे।
त्यस्तै, दीपेन्द्र सिंह ऐरीले २६ रन, गुल्शन झाले ८ बलमा १६ रन, सोमपाल कामीले ८ बलमा १४ रन, र आशिफ शेखले ११ रन बनाए। अन्य ब्याटरले भने दोहोरो अंक छुन सकेनन्।
यस जितसँगै नेपाल सुपर सिक्स चरणमा लगातार दोस्रो जितसँगै विश्वकपको ढोका थप फराकिलो पार्न सफल भएको छ।