काठमाडौं । आईसीसी महिला विश्वकप क्रिकेटमा आज (सोमबार) न्यूजिल्यान्ड र दक्षिण अफ्रिका आमनेसामने हुने भएका छन्। भारतको इन्दौरस्थित होलकर क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजेबाट सुरु हुनेछ।
प्रतियोगितामा आफ्नो दोस्रो खेलका लागि तयार दुबै टोली अझैसम्म अंकको खाता खोल्न नसकेका छन्। उद्घाटन खेलमा न्यूजिल्यान्ड अस्ट्रेलियासँग ८९ रनले पराजित भएको थियो। कप्तान सोफी डिवाइनले १ सय १२ रनको शानदार शतक प्रहार गरेकी थिइन्, तर उनको प्रयास टोलीलाई जित दिलाउन पर्याप्त हुन सकेन।
त्यस्तै, दक्षिण अफ्रिका इंग्ल्यान्डसँग १० विकेटले लज्जास्पद हार बेहोरेको थियो। आजको खेलमा दुबै टोली पहिलो जितका खोजीमा मैदान उत्रिँदै छन्।
न्यूजिल्यान्ड सन् २००० को महिला विश्वकप विजेता हो भने दक्षिण अफ्रिकाले हालसम्म उपाधि जित्न सकेको छैन। महिला एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मा हालसम्म दुवैबीच २० पटक भिडन्त भएकोमा न्यूजिल्यान्डले १२ र दक्षिण अफ्रिकाले ८ खेल जितेका छन्। विश्वकपमा भने चार भेटमा तीनपटक न्यूजिल्यान्ड र एकपटक दक्षिण अफ्रिका विजयी भएको छ।
सुरुआती खेल गुमाएका कारण अंक तालिकामा न्यूजिल्यान्ड सातौं र दक्षिण अफ्रिका आठौं स्थानमा छन्। आजको भिडन्त दुबै टोलीका लागि “टिके रहने” अवसरका रूपमा हेरिएको छ।
२० असोज २०८२, सोमबार ०२:२५ मा प्रकाशित