साफ यू-१९ महिला च्याम्पियनसिप: आज पोखरामा दुई निर्णायक भिडन्त, नेपाल-भूटान दबाबमा

ecopolinews.com

पोखरा । साफ यू–१९ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आज पोखरा रंगशालामा दुई महत्वपूर्ण खेलहरू हुँदैछन्। प्रतियोगिताको आजको खेल तालिकाले फाइनल समीकरणलाई निर्णायक मोडमा पुर्‍याउने अपेक्षा गरिएको छ।

मध्याह्न १२ बजे हुने पहिलो खेलमा बलिया टोली बंगलादेश र भारत आमनेसामने हुनेछन्। दुवै टोलीले आ-आफ्नो पहिलो खेल जित्दै तीन-तीन अङ्क जोडिसकेका छन्, जसका कारण आजको खेल लिगको शीर्ष स्थानका लागि निर्णायक बन्नेछ।

त्यसैगरी दिउँसो ३ बजे घरेलु टोली नेपालले भूटानसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र भूटान दुवै टोली यसअघि आफ्नो पहिलो खेलमा पराजित भएका कारण आजको खेल उनीहरूका लागि ‘गर या मर’ जस्तै हुनेछ। नेपाल पहिलो खेलमा भारतसँग १-० ले पराजित भएको थियो भने भूटान प्रतियोगिताको उद्घाटन खेलमै बंगलादेशसँग १२-० को फराकिलो हार बेहोर्न पुगेको थियो।

फाइनलको सम्भावना जीवित राख्न आजको खेल जित्नु नेपाल र भूटान दुवैका लागि अत्यन्तै महत्वपूर्ण छ। हारले फाइनल दौड लगभग समाप्त गर्ने भएकाले दुवै टोली दबाबका साथ मैदान उत्रिनेछन्।

यस प्रतियोगितामा चार टोली-नेपाल, भारत, बंगलादेश र भूटान-को सहभागिता रहेको छ। दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)को समन्वय तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा प्रतियोगिता ‘राउन्ड रोबिन लिग’ प्रणालीमा भइरहेको छ, जहाँ प्रत्येक टोलीले एक-अर्कासँग एक-एक खेल खेल्नेछन्।

लिग चरण समाप्त भएपछि शीर्ष दुई टोलीबीच माघ २४ गते फाइनल खेल हुँदै उपाधिको टुंगो लाग्नेछ।

प्रतिक्रिया