दक्षिण कोरिया — नेपाली खेलकुदको गौरव बनेकी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुई थाई खेलाडी सारिका धमलालाई नेपाली खेलाडी संघ दक्षिण कोरियाका आदरणीय अध्यक्ष आर.के श्रेष्ठ ज्यू द्वारा २ लाख वोन सहित विशेष सम्मान प्रदान गर्नुभएको छ।
महिला खेलकुदको उचाइ बढाउँदै आएका सारिकाले प्राप्त गरेको यो सम्मानले राष्ट्रिय खेल जगतमा थप ऊर्जा भरेको छ।
नेपालको माउन्टेन मुई थाई क्लबबाट खेलेर उदाएकी सारिका धमलाले अत्यन्त छोटो समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा विभिन्न पदक, उपाधि र सम्मानहरू हासिल गर्दै नेपाललाई गर्व गर्ने अवसर दिएकी छन्। प्रतियोगिताको प्रारम्भिक चरणदेखि अहिलेसम्म उनले एकपटक पनि हार नबेहोरेको उपलब्धि स्वयंमा ठूलो उदाहरण बनेको छ।
हाल खेल अध्ययन तथा उज्ज्वल भविष्य निर्माणका लागि सारिका धमला दक्षिण कोरियामा बस्दै आइरहेकी छन्। त्यहाँ पनि उनी निरन्तर प्रशिक्षण, अध्ययन र आफ्नो क्षमताको स्तर उकास्न प्रतिबद्ध छिन्।
सारिकाको सफलतामा उनको परिवार, विशेषगरी पिता शंकर धमलाको योगदान महत्वपूर्ण रहेको उनले बताइन्। स्वयं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुई थाई खेलाडी रहेका उनका पिता हाल नेपालमै खेलकुद विकासका विभिन्न पहलहरूमा सक्रिय छन् र माउन्टेन मुई थाई एकेडेमीका संचालक समेत हुन्।
सारिका भन्छिन्—“मेरो प्रेरणा मेरा बुबानै हुनुहुन्छ। उहाँको लगनशीलता र मार्गदर्शनको कारणमै म आज यस स्थानमा पुगेकी हुँ। उहाँकै मेहनत मेरो सफलता हो।”
सारिका धमलाको निरन्तर सफलता र अन्तर्राष्ट्रिय स्तरमा बढ्दो प्रभावले नेपालको महिला खेलकुद क्षेत्रमा सकारात्मक सन्देश दिएको छ। नेपाली खेलाडी संघ, दक्षिण कोरियाद्वारा गरिएको यो सम्मानले विदेशमा रहेका खेलकर्मीलाई हौसला र सम्बद्धताको बलियो प्रेरणा प्रदान गरेको छ।