त्रिविको दीक्षान्तमा विश्वस्तरीय वैज्ञानिकको आगमन, के सन्देश दिन खोजिँदैछ ?

ecopolinews.com

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५१औँ दीक्षान्त समारोह यही पुस १० गते दशरथ रङ्गशालामा भव्य रूपमा आयोजना गर्ने भएको छ । समारोहमा सन् २०१५ मा भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त गरेका जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् ।

त्रिविले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा उपकुलपति प्रा.डा. दीपक अर्यालले विश्वस्तरीय वैज्ञानिकको उपस्थितिले त्रिविको अन्तर्राष्ट्रिय प्रतिष्ठा थप सुदृढ हुने विश्वास व्यक्त गरे । उनका अनुसार काजिताको सहभागिताले नेपाली उच्च शिक्षाको विश्वमञ्चमा सकारात्मक सन्देश प्रवाह गर्नेछ ।

यस वर्षको दीक्षान्त समारोहमा विद्यार्थी, अभिभावक र आमन्त्रित अतिथिसहित करिब ४१ हजार जनाको सहभागिता रहने अनुमान गरिएको छ । विभिन्न तहमा उत्तीर्ण भएका ८९ हजार १९१ विद्यार्थीमध्ये १६ हजार ३८० जनाले दीक्षान्तमा सहभागी हुन निवेदन दिएका छन् ।

समारोहको अध्यक्षता प्रधानमन्त्री तथा त्रिविकी कुलपति सुशीला कार्कीले गर्नेछिन् । यस्तै, शिक्षामन्त्री एवं सहकुलपति महावीर पुन विशेष अतिथिका रूपमा उपस्थित हुनेछन् । कार्यक्रममा ५२ जना त्रिवि सभासद दीक्षान्त पोशाकसहित सहभागी हुने जानकारी दिइएको छ ।

दीक्षान्त समारोहमा शैक्षिक उत्कृष्टता प्रदर्शन गर्ने ११ जना छात्रा र १४ जना छात्र लाई विभिन्न पदक प्रदान गरिनेछ । यस वर्ष मानविकी सङ्कायतर्फ १४ हजार ८५१, व्यवस्थापनतर्फ ४३ हजार ६१०, कानुनतर्फ २ हजार ३३५ र शिक्षातर्फ १६ हजार ४६७ विद्यार्थी उत्तीर्ण भएका छन् ।

त्रिविले दीक्षान्त समारोहलाई केवल औपचारिक कार्यक्रम नभई नेपाली उच्च शिक्षाको उपलब्धि, सम्भावना र अन्तर्राष्ट्रिय पहिचान प्रस्तुत गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ।

प्रतिक्रिया