हंगेरीमा १६ वर्षे ‘ओर्बन युग’ को अन्त्य: ऐतिहासिक जनमतसहित पिटर माग्यार सत्तामा

ecopolinews.com

काठमाडौं १२ अप्रिल २०२६ को रात बुडापेस्टको डानुब नदी किनारमा इतिहासले आफूलाई दोहोर्‍याएको छ। ठीक ७० वर्षअघि सन् १९५६ को सोभियतविरोधी क्रान्तिमा गुञ्जिएको ‘रुसीहरू घर जाओ !’ भन्ने ऐतिहासिक नारा यसपटक हंगेरीका उदारवादी प्रदर्शनकारीहरूको मुखबाट प्रधानमन्त्री विक्टर ओर्बनको १६ वर्षे सत्ता ढाल्ने हतियार बनेर निस्किएको छ। हंगेरीको लोकतान्त्रिक इतिहासमै सर्वाधिक ७९.५१ प्रतिशत मतदान गर्दै जनताले ओर्बनको ‘अनुदारवादी लोकतन्त्र’ लाई पूर्णतः अस्वीकार गरेका छन्।

अभूतपूर्व चुनावी परिणामसँगै पिटर माग्यार नेतृत्वको ‘तिस्जा’ पार्टीले १९९ सदस्यीय संसद्मा १३८ सिट हात पार्दै दुई-तिहाइ बहुमतसहित विजय हासिल गरेको छ। लामो समयदेखि सत्तामा पकड जमाएका ओर्बनको फिडेज पार्टी भने ५५ सिटमा खुम्चिन पुगेको छ। हार स्वीकार गर्दै ओर्बनले जनताको फैसला शिरोपर गरेको बताएका छन्, जसलाई विश्लेषकहरूले ‘अजेय मानिएको किल्ला’ को पतनका रूपमा अथ्र्याएका छन्।

सन् २०१० देखि हंगेरीमा संविधान संशोधन, न्यायपालिकामा नियन्त्रण र मिडियामाथि पकड जमाउँदै आफ्नो सत्ता लम्ब्याएका ओर्बनको बहिर्गमनलाई युरोपमा लोकतन्त्रको पुनरुत्थानका रूपमा हेरिएको छ। भ्रष्ट्राचार, दोहोरो अंकको मुद्रास्फीति र शिक्षा तथा स्वास्थ्य क्षेत्रको दयनीय अवस्थाले आजित भएका जनताले पिटर माग्यारको ‘न डराउनुहोस्’ अभियानलाई साथ दिएका हुन्। विशेषगरी युवा पुस्ताको ७० प्रतिशतभन्दा बढी मत तिस्जा पार्टीमा खस्नु ओर्बनको पतनको मुख्य कारक बनेको छ।

माग्यारले यस जितलाई देशको ‘पुनर्जन्म’ भन्दै हंगेरीलाई ‘अनुदारवादी साङ्लो’ बाट मुक्त गरेको घोषणा गरेका छन्। ओर्बनको कार्यकालमा रुस र चीनसँग बढ्दो निकटताका कारण युरोपेली युनियनसँग बिग्रिएको सम्बन्ध सुधार्नु र रोक्का भएको २० अर्ब युरोभन्दा बढीको कोष फुकुवा गराउनु माग्यारका लागि पहिलो चुनौती बन्नेछ।

यो चुनावी परिणामले हंगेरीलाई पुनः युरोपेली मूलधारमा फर्काउने मात्र होइन, युरोपभर फैलिएको दक्षिणपन्थी राष्ट्रवादको लहरमाथि नै गम्भीर प्रश्न खडा गरिदिएको छ। युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले हंगेरीमा युरोपको हृदय फेरि बलियोसँग धड्किएको भन्दै नतिजाको स्वागत गरेकी छिन्। लामो समयदेखि ओर्बनको संरक्षणमा रहेका चिनियाँ लगानीकर्ताहरू र मस्कोको राजनीतिक समीकरणका लागि यो नतिजा एउटा ठूलो धक्काका रूपमा देखिएको छ। हंगेरीको यो परिवर्तनले अबका दिनमा क्षेत्रीय राजनीतिमा कस्तो मोड लिन्छ, त्यसले सिङ्गो युरोपको भविष्य निर्धारण गर्नेछ।

प्रतिक्रिया