काठमाडौं । उच्च माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को नवौँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा शिक्षा क्षेत्रमा लामो समयदेखि क्रियाशील, नीतिगत सुधार र संस्थागत सुदृढीकरणका लागि निरन्तर आवाज उठाउँदै आएका राजेन्द्र अधिकारी केन्द्रीय उपाध्यक्ष पदका लागि उम्मेदवार बनेका छन्।
शिक्षा क्षेत्रलाई सेवामूलक र गुणस्तरीय बनाउने अभियानमा समर्पित अधिकारीले निजी तथा सामुदायिक शिक्षाबीचको सहकार्य, शिक्षक–कर्मचारीको क्षमता अभिवृद्धि, विद्यार्थीमैत्री शिक्षण प्रणाली र स्वदेशी शिक्षाको प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउँदै आएका छन्। उनले विद्यालय व्यवस्थापन, शैक्षिक पूर्वाधार सुधार, प्रविधिमैत्री शिक्षण पद्धति र नीतिगत सुधारका विषयमा सक्रिय भूमिका निर्वाह गरेका छन्।
हिसानभित्र एकजुटता, पारदर्शिता र संस्थागत मजबुती आवश्यक रहेको बताउँदै अधिकारीले शिक्षा क्षेत्रका समस्या समाधानका लागि केन्द्रदेखि स्थानीय तहसम्म समन्वयात्मक पहल आवश्यक भएको धारणा राख्दै आएका छन्। शिक्षालाई व्यापार होइन, राष्ट्र निर्माणको आधारका रूपमा स्थापित गर्नुपर्ने उनको स्पष्ट दृष्टिकोण छ।
उम्मेदवारी घोषणासँगै अधिकारीले भने, “शिक्षा क्षेत्रका वास्तविक समस्या समाधान, विद्यालयहरूको हकहित संरक्षण र गुणस्तरीय शिक्षाको सुनिश्चितता मेरो प्रमुख लक्ष्य हो। सबै सदस्यको विश्वास र सहयोगले मात्र यस अभियानलाई सफल बनाउन सकिन्छ।”
हिसानको नवौँ राष्ट्रिय महाधिवेशनलाई शिक्षा क्षेत्र सुधारको महत्वपूर्ण मोडका रूपमा हेरिएको छ। यस्तो समयमा अनुभवी, प्रतिबद्ध र परिणाममुखी नेतृत्वको आवश्यकता रहेको शिक्षा क्षेत्रका सरोकारवालाहरू बताउँछन्। यही पृष्ठभूमिमा राजेन्द्र अधिकारीको उम्मेदवारीलाई शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तनको आशासँग जोडेर हेरिएको छ।
आफ्नो अमूल्य मत प्रदान गरी अत्यधिक बहुमतले विजयी गराउन अधिकारीले सम्पूर्ण सदस्यहरूसँग आग्रह गरेका छन्।