मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश समितिले हालै भइरहेको भ्रष्टाचारविरोधी आन्दोलनका मागहरूलाई सकारात्मक तर त्यसको आडमा भइरहेको अराजकता र हिंस्रक गतिविधिलाई अस्वीकार्य बताएको छ। समितिले राज्यका कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका र राष्ट्रपति कार्यालयजस्ता सर्वोच्च अङ्गमाथि प्रहार गर्नु र सार्वजनिक सम्पत्तिमा तोडफोड गर्नु कुनै हालतमा स्वीकार्य नहुने स्पष्ट पारेको छ।
संविधान दिवसको अवसरमा जारी विज्ञप्तिमा समितिले संविधान जारी भएको दशकमा उत्पीडित समुदायको अधिकार सुनिश्चित भए पनि कानुन निर्माणको ढिलाइले त्यसको पूर्ण कार्यान्वयन हुन नसकेको स्वीकार गरेको छ। सुशासन र विकासमा जनअपेक्षा पूरा हुन नसक्दा निराशा बढ्नु स्वाभाविक भएको र भ्रष्टाचार अन्त्यको माग जायज रहेको समितिले उल्लेख गरेको छ। तर, आन्दोलनका नाममा तोडफोड र क्षति पु¥याउने कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्ने चेतावनी पनि दिएको छ।
प्रदेश सभापति एवम् मुख्यमन्त्री इन्द्रबहादुर बानियाँद्वारा हस्ताक्षरित विज्ञप्तिमा संवैधानिक सर्वोच्चताको रक्षा गर्न कांग्रेस निरन्तर लडिरहने प्रतिबद्धता जनाइएको छ। बदलिँदो परिस्थितिमा पार्टीलाई अझ सशक्त र एकताबद्ध बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिँदै कांग्रेसले संविधानले दिएका अधिकारको संरक्षण गरी जनजीवनमा सकारात्मक परिवर्तन ल्याउन सबैलाई कर्तव्यनिष्ठ हुन आह्वान गरेको छ।