सम्पत्ति शुद्धीकरण विभाग र सीआईबीको अनुसन्धान घेरामा पर्नुभएका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले एक विज्ञप्ति जारी गर्दै आफूमाथि लगाइएका आरोपहरूलाई "भ्रामक र झुटा" संज्ञा दिनुभएको छ। हाल उपचारका क्रममा विदेशमा रहनुभएका देउवाले आफू सधैँ विधिको शासन र पारदर्शिताको पक्षमा रहेको दाबी गर्नुभएको छ।
विज्ञप्तिका मुख्य बुँदाहरू:
सम्पत्ति विवरण पारदर्शी: सार्वजनिक पदमा रहँदा कानुनअनुसार आफ्नो र परिवारको सम्पत्ति विवरण सधैँ सरकारी निकायमा बुझाउँदै आएको र यसमा लुकाउनुपर्ने केही नरहेको उहाँको जिकिर छ।
भ्रष्टाचार विरोधी ऐनको स्मरण: आफू गृहमन्त्री हुँदा २०४८ सालमा 'अख्तियार ऐन' र प्रधानमन्त्री हुँदा २०५९ सालमा 'भष्टाचार निवारण ऐन' ल्याएको स्मरण गराउँदै आफू सुशासनको पक्षधर रहेको उहाँले बताउनुभएको छ।
स्वास्थ्य उपचारको कारण: आफू र पत्नी आरजु राणा देउवा हाल स्वास्थ्य उपचारका लागि विदेशमा रहेको र उपचार प्रक्रिया जारी रहेकै बेला यस्ता समाचार आउनु दुःखद भएको उहाँको आशय छ।
अनुसन्धानलाई चुनौती: वास्तविकता समयक्रममा खुल्दै जाने भन्दै उहाँले अतिरञ्जित विवरणहरूबाट भ्रममा नपर्न आम नागरिक र पार्टी कार्यकर्तालाई अपिल गर्नुभएको छ।
देउवाले "जय नेपाल" भन्दै आफ्नो विज्ञप्ति टुङ्ग्याउनुभएको छ। यद्यपि, नेपालमा उहाँविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको र 'रेड नोटिस' को तयारी भइरहेका बेला यो विज्ञप्तिले राजनीतिक वृत्तमा कस्तो प्रभाव पार्छ, त्यो भने हेर्न बाँकी छ।
आदरणीय दाजुभाई, दिदी बहिनी तथा साथीहरु,
म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धिकरण सम्बन्धि अनुसन्धान सुरु गरिएको भन्ने जानकारी संचारमाध्यमबाट थाहा पाएँ ।
म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धि विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु । नेपालको कानुन अनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश गरेको अवगत गराउन चाहन्छु ।
देशमा लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना, विधिको शासन, स्वतन्त्र न्यायापालिका, पारदर्शीतासँगै राज्यका अंगहरु स्वतन्त्र र सक्षम हुनुपर्दछ भन्ने मान्यताका लागि मैले सिंगो जीवन संघर्षमै व्यथित गरेको हुँ ।
मेरो जीवन एउटा खुल्ला पुस्तकका रुपमा रहेको छ ।
भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै सुशासन र पारदर्शीता कायम गर्न म गृहमन्त्री हुँदा मेरै अग्रसरतामा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र मेरै प्रधानमन्त्रीत्व कार्यकालमा भ्रष्टाचार निवारण ऐन २०५९ लागू भएको सर्वविदित नै छ ।
स्वास्थ्य उपचारका निम्ति हाल हामी विदेशमा छौ र अझै उपचारको क्रम जारी रहेको जानकारी गराउन चाहन्छु ।
बास्तविकता समयक्रमसँगै खुल्दै जानेनै छ । अतिरंजना गरी सार्वजिनक भएका विवरणहरुबाट भ्रममा नपर्न सबैमा अपिल गर्दछु।
जय नेपाल।
शेरबहादुर देउवा