२५ वर्षकी गायिका मैथिली ठाकुरले रचिन् इतिहास: बिहारकी सबैभन्दा कान्छी सांसद, नेपालमा आउँथिन् गीत गाउन!

ecopolinews.com

भारतको बिहार विधानसभामा चर्चित गायिका मैथिली ठाकुरले २५ वर्षको उमेरमै सबैभन्दा कान्छी सांसद बनेर इतिहास रचेकी छन्। दरभंगा जिल्लाको अलिनगर सिटबाट भारतीय जनता पार्टी (भाजपा)को तर्फबाट चुनाव लडेकी उनले ८४ हजार ९१५ मत ल्याएर राष्ट्रिय जनता दल (आरजेडी)का विनोद मिश्रालाई पराजित गरिन्। मिश्राले ७३ हजार १८५ मत मात्र पाए। चुनावको ठीकअगाडि भाजपामा प्रवेश गरेकी मैथिलीले यसअघि बिहारका स्वतन्त्र उम्मेदवार तौसिफ आलम (२००५) र तेजस्वी यादव (२०१५)को रेकर्ड तोडेकी हुन्।

मधुबनीमा जन्मिएकी मैथिलीको संगीत यात्रा 'इन्डियन आइडल जुनियर' र 'राइजिङ स्टार' जस्ता रियालिटी शोबाट सुरु भएको थियो, जहाँ उनी पहिलो रनर-अप बनेकी थिइन्। मैथिली भाषाका भजन र लोकगीतहरूबाट उनले सामाजिक सञ्जालमा करोडौं दर्शक कमाएकी छन्। नेपालको तराई-मधेश क्षेत्रमा विशेष लोकप्रिय उनी सन् २०२३ मा जानकी मन्दिरमा कार्यक्रम गर्न आएकी थिइन्। उनी भारतीय निर्वाचन आयोगको 'स्टेट आइकन' पनि रहेकी छन् र सन् २०२१ मा 'उस्ताद बिस्मिल्ला खान युवा पुरस्कार'बाट सम्मानित भएकी थिइन्।

हालै चलचित्र 'औरों में कहाँ दम था'मा गीत गाएकी मैथिलीले राजनीतिमा प्रवेश गर्दै युवापुस्तालाई प्रेरणा दिएकी छन्। उनको यो जितले संगीतबाट राजनीतिसम्मको यात्रालाई नयाँ आयाम दिएको छ।

प्रतिक्रिया