२० मिनेटमै मञ्च छाडे मेस्सी, कुर्सी उखेल्दै उग्र बने समर्थक - आयोजक हिरासतमा Chaos Erupts at Messi Event in Kolkata; Organizer Detained

ecopolinews.com

 भारत - विश्व फुटबलका महान् खेलाडी लियोनेल मेस्सीको बहुप्रतीक्षित भारत भ्रमण शनिबार कोलकाताबाट सुरु भए पनि त्यो कार्यक्रम अराजकतामा परिणत भयो। निर्धारित ४५ मिनेटको उपस्थितिको सट्टा मेस्सी मात्र २० मिनेटमै रंगशाला छाड्न बाध्य भए, जसपछि आक्रोशित समर्थकहरूले कुर्सी उखेल्दै मैदानमा फ्याँक्न थाले।

कोलकातास्थित साल्ट लेक स्टेडियम (विवेकानन्द युवा भारती क्रीडाङ्गन) मा भएको टिकटेड कार्यक्रममा कमजोर व्यवस्थापन देखिएपछि अवस्था नियन्त्रणबाहिर गएको हो। समर्थकहरू बार तोड्दै मैदानभित्र पस्न थाले भने केहीले वस्तुहरू प्रहार गर्दा सुरक्षाकर्मीहरू हस्तक्षेप गर्न बाध्य भए।

यस घटनापछि कार्यक्रमका मुख्य आयोजक सतद्रु दत्तालाई प्रहरीले हिरासतमा लिएको छ। पश्चिम बंगाल प्रहरीका महानिर्देशक राजीव कुमारका अनुसार, आयोजकले टिकट रकम फिर्ता गर्ने लिखित प्रतिबद्धता जनाइसकेका छन्।

“यस्तो गम्भीर कुप्रबन्धन दण्डविहीन रहँदैन,” उनले भने।

कार्यक्रमका टिकट ३,५०० भारतीय रुपैयाँदेखि सुरु भएको थियो, जुन भारतको औसत साप्ताहिक आम्दानीभन्दा बढी पर्छ। केही समर्थकले भने मेस्सी हेर्न १३० अमेरिकी डलरसम्म खर्च गरेको बताएका छन्।

मिजोरामबाट करिब १,५०० किलोमिटर यात्रा गरेका एक समर्थकले भने,

“यति खराब व्यवस्थापन होला भन्ने सोचेको थिएन। मेस्सी असुरक्षित महसुस गरेर चाँडै फर्किए जस्तो लाग्यो, मैले त झल्को मात्र देख्न पाएँ।”

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मेस्सी र समर्थकहरूसँग सार्वजनिक रूपमा माफी मागेकी छन्। उनले घटनाको छानबिन गर्न समिति गठन गर्ने घोषणा गर्दै दोषीलाई कारबाही गरिने बताइन्।

मेस्सी भारत भ्रमणका क्रममा कोलकाता, हैदरावाद, मुम्बई र नयाँ दिल्लीमा कन्सर्ट, युवा फुटबल प्रशिक्षण, प्याडेल प्रतियोगिता तथा परोपकारी कार्यक्रमहरूमा सहभागी हुने कार्यक्रम तय भएको छ।

उल्लेखनीय छ, साल्ट लेक स्टेडियम यसअघि पनि समर्थक हिंसाका घटनाका कारण विवादमा पर्दै आएको छ। सन् २०१२ मा कोलकाता डर्बी खेलमा ढुंगा लागेर खेलाडी गम्भीर घाइते भएपछि खेल नै रद्द गरिएको थियो।

यस घटनाले भारतमा अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रमको व्यवस्थापन, सुरक्षाको तयारी र दर्शक व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ।

Lionel Messi’s India tour began in chaos on Saturday in Kolkata after poor crowd management forced the football star to leave a ticketed event after just 20 minutes instead of the scheduled 45. Angry fans threw objects, ripped up seats, and entered the field at Salt Lake Stadium.

Police detained the event’s chief organizer, who has pledged to refund ticket money. West Bengal Chief Minister Mamata Banerjee apologized to Messi and ordered a probe into the incident, raising concerns over security and event management at major sporting events.

प्रतिक्रिया