लमजुङ उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको नवौँ लमजुङ महोत्सवलाई गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री मा. डा. टकराज गुरुङले औपचारिक रूपमा उद्घाटन गरेका छन्। बेसीशहर नगरपालिका-७ स्थित सहजी खेलमैदानमा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले स्थानीय उत्पादन, घरेलु उद्योग र पर्यटन प्रवर्द्धनलाई प्रदेश सरकारको प्रमुख प्राथमिकतामा राखिएको स्पष्ट पारे।
“स्थानीय उत्पादनमा वृद्धि, उद्योग-व्यापार र व्यवसायमा उन्नति : कला, संस्कृति र पर्यटन प्रवर्द्धनमार्फत समग्र लमजुङको समृद्धि” भन्ने मूल नारासहित सुरु भएको महोत्सवले लमजुङको आर्थिक गतिविधिलाई चलायमान बनाउने विश्वास मन्त्री गुरुङले व्यक्त गरे। उनले यस्ता महोत्सवहरूले स्थानीय उद्यमशीलता बढाउने, रोजगारी सिर्जना गर्ने र जिल्लालाई पर्यटकीय गन्तव्यका रूपमा चिनाउन ठूलो भूमिका खेल्ने बताए।
प्रदेश सरकार निजी क्षेत्र, स्थानीय तह र उद्योगी-व्यवसायीसँग सहकार्य गर्दै आर्थिक समृद्धिको यात्रामा अघि बढ्न सधैं तयार रहेको उल्लेख गर्दै मन्त्री गुरुङले लमजुङको सम्भावनालाई व्यवहारिक योजनामा रूपान्तरण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको धारणा राखे।
उद्घाटन समारोह लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष तथा मूल समारोह समितिका संयोजक भरतकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, उद्योगी–व्यवसायी, समाजसेवी, सुरक्षाकर्मी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।
यस वर्षको महोत्सवमा करिब २२० वटा व्यापारिक स्टल, मुख्य स्टेज, सचिवालय, आकर्षक प्रवेशद्वार, वाल उद्यान तथा विशेष संरचनाका रूपमा ‘लण्डन ब्रिज’ निर्माण गरिएको छ। संरचनागत हिसाबले अघिल्ला संस्करणभन्दा थप व्यवस्थित र आकर्षक बनेको आयोजकले जनाएको छ।
महोत्सव अवधिभर मस्र्याङ्दी नदीमा र्याफ्टिङ, हेलिकोप्टरमार्फत प्रमुख पर्यटकीय स्थलहरूको अवलोकन, कोसेली घर, कृषि, पशुपंक्षी तथा हस्तकला प्रदर्शनी, होमस्टे प्रवर्द्धन कार्यक्रम र दैनिक सांस्कृतिक प्रस्तुतिहरू सञ्चालन हुनेछन्।
आयोजकका अनुसार महोत्सव अवधिभर झण्डै डेढ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ। यसले लमजुङको पर्यटन प्रवर्द्धनसँगै स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष विकास श्रेष्ठले धन्यवाद मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन महासचिव विपिन श्रेष्ठ र उपमहासचिव मानकृष्ण आचार्यले संयुक्त रूपमा गरेका थिए।