अमेरिकाको विजयी यात्रा जारी, नेपाल ४४ रनले स्तब्ध

ecopolinews.com

आइसिसी महिला टी२०आई च्यालेन्ज ट्रफी अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा नेपालले संयुक्त राज्य अमेरिका (USA) विरुद्ध हार व्यहोरेको छ। अमेरिकाले दिएको १२४ रनको मध्यम लक्ष्य पछ्याउने क्रममा नेपाली ब्याटरहरू क्रिजमा टिक्न नसक्दा नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै मात्र ७९ रन जोड्न सक्यो। कुनै पनि बेला लय समात्न नसकेको नेपालका लागि बिन्दु रावलले बनाएको २७ रन नै सर्वाधिक स्कोर बन्न पुग्यो भने कविता जोशीले ११ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंक समेत छुन सकेनन्।

यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२३ रनको योगफल तयार पारेको थियो। अमेरिकाको जितमा ४७ रनको महत्वपूर्ण इनिङ्स खेलेकी पूजा गणेश 'प्लेयर अफ द म्याच' घोषित भइन्। त्यस्तै गार्गी भोगलेले ३४ र चेतना पाग्यद्यालाले ३० रनको योगदान दिएर टोलीलाई बलियो स्थितिमा पुर्‍याएका थिए। नेपालका लागि बलिङतर्फ मनिषा उपाध्यायले २ विकेट तथा कविता कुँवर र रिया शर्माले १–१ विकेट लिए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन। अमेरिकाका माही माधवन र तरणुम चोपराले कसिलो बलिङ गर्दै २–२ विकेट लिएपछि नेपाल पूर्ण रूपमा दबाबमा परेको थियो।


भोलि इटालीसँग निर्णायक भिडन्त

आजको हारलाई बिर्सँदै नेपाली टोलीले भोलि १९ अप्रिलमा इटालीको महिला टोलीको सामना गर्नेछ। प्रतियोगितामा अगाडि बढ्नका लागि नेपाललाई भोलिको खेलमा ब्याटिङ र बलिङ दुवै क्षेत्रमा सुधारिएको प्रदर्शनसहित जित निकाल्नुपर्ने दबाब रहेको छ।

प्रतिक्रिया